नगर परिचय

स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ८० मा भएको व्यवस्था बमोजिम नेपाल सरकारको मिति २०७१ मंसिर १६ गतेको निर्णयानुसार झापा जिल्लाका साविकका सतासीधाम र शिवगंज गाउँ विकास समितिलाई गाभी यस शिवसताक्षी नगरपालिकाको गठन भएको हो । नगरपालिकाको केन्द्र साविक शिवगंज गाविसको वडा नं. ९ (हाल शिवसताक्षी नगरपालिका वडा नं. ३) मा पर्ने ब्याङ्डाँडामा छ । नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ । स्थानीय स्वायत्त शासन ऐन २०५५ को व्यवस्थाअनुसार शिवसताक्षी नगरपालिका एक अविच्छिन्न उत्तराधिकारबाला स्वशासित र सङ्गठित संस्था हो । नगरपालिकाले व्यक्तिसरह चल–अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न र बेचबिखन गर्न सक्छ । नगरपालिकाले व्यक्तिसरह आफ्नो नामबाट नालिस उजूर गर्न र सो उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्छ । स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन नियमावली, २०५६, स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४, स्थानीय निकाय स्रोत परिचालन कार्यविधि, २०६९ लगायत प्रचलित ऐन नियम बमोजिम यस नगरपालिकाका काम कारवाहीहरु संचालित र व्यवस्थित गरिएको छ ।

पुर्वपश्चिम लोकमार्गको कनकाई नदी पुलबाट करिब ८ किलोमिटर पश्चिम डुँडामारीसम्म शिवसताक्षी नगरपालिकाको क्षेत्र पर्छ । यो नगरपालिका झापा जिल्लाको सदरमुकाम तथा चन्द्रगढी विमानस्थलबाट करिब ४० किलोमिटरको दुरीमा रहेको छ । नगरपालिकाको वडा नं. ४ को पुरै क्षेत्र र वडा नं. ९ को केही भुुभाग कनकाई नदीको पूर्वमा पर्दछ भने बाँकी क्षेत्र कनकाई नदीको पश्चिममा पर्दछन् । कनकाई सिंचाई प्रणालीको इनटेकलगायतका महत्वपूर्ण संरचना यसै नगरपालिका क्षेत्रमा पर्दछन् । महेन्द्र लोकमार्गको उत्तरतर्पm जंगल तथा वृक्षरोपण आयोजना रहेको छ । उत्तरी सीमाना इलामको महमाई गाविस सम्म नै वन क्षेत्र रहेको छ । यस क्षेत्रमा कम जनघनत्व भएको मानव वस्ती छ । यही क्षेत्रमा दोमुखा पर्यटकीय क्षेत्र तथा सताक्षीधाम जस्ता पवित्र र मनमोहक धार्मिक पर्यटकीय क्षेत्रहरु रहेका छन् । महेन्द्र लोकमार्ग देखि करिब ३ किलोमिटर दक्षिण कनकाई नदीको किनारमा पौराणिक चिल्लागढ धाम रहेको छ । कनकाई नदीको पश्चिम किनार माइधाम क्षेत्रमा हिन्दु, बौद्धलगायतका धर्मावलम्बीहरुको आस्थाका महत्वपूर्ण धरोहरहरु रहेका छन् । नगरका विभिन्न क्षेत्रमा भएका असंख्य मन्दिर, गुम्बा, चर्चलगायतका संरचनाले नगरबासीमा भएको धार्मिक र साँस्कृतिक सहिस्णुुतालाई झल्काउँदछ ।

महेन्द्र लोकमार्गको दुधे बजारबाट करिब १० किलोमिटर दक्षिण नगरको दक्षिणी सिमानामा शिवगंज बजार छ । यो बजार शिवसताक्षी नगरपालिकाका अतिरिक्त पाँचगाछी, महाभारालगायतका गाविसका मानिसहरुको व्यापारिक केन्द्र हो । नगरपालिकाको केन्द्र ब्याङ्डाँडा दुधे बजारबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ । हाल ब्याङ्डाँडा सानो चोक बजार भएको ग्रामीण बस्ती छ र भविश्यमा नगरको केन्द्रको रुपमा विकसित हुने संभावना बोकेर बसेको छ ।

यस नगरपालिकामा ७८ जातजातिको मिश्रित बसोबास रहेको छ । नगरको उत्तरी क्षेत्रमा लिम्बु तथा बाहुन क्षेत्रीको बाहुल्यता रहेको देखिन्छ भने दक्षिणी भेगमा राजवंशी, सन्थाललगायतका जातजातिको बसोबास रहेको पाइन्छ । 
माघे संस्क्रान्तिको दिन कनकाई माई धाममा मगर नुहाउनेहरुको ठूलो मेला लाग्दछ । त्यस्तै धान्य पूर्णिमाका दिन सताक्षीधाममा तीर्थालुहरुको घुँइचो हुुन्छ । विशेष गरी सार्वजनिक विदाका दिन पिकनिक खाने र रमाइलो गर्नेहरुको भीड दोमुखा क्षेत्रमा देख्न पाइन्छ ।

पूर्व कनकाई नगरपालिका, पश्चिममा धरमपुर गाविस, दक्षिणमा पाँचगाछी गाविस र उत्तरमा इलाम जिल्लाको महमाई गाविसमा सिमाना जोडिएको यस शिवसताक्षी नगरपालिका ९०.२ वर्ग मिटर क्षेत्रफलमा पैmलिएको छ । नगरपालिकाको जनसांख्यिक विवरण देहाय अनुसार छ ।